पर्साको जगरनाथपुर गाउँपालिका–४ क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। सोमबार राति इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले २१३ केजी गाँजासहित मे १ त ५७१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा पटेर्वा सुगौली–१ सोनवर्षाबाट गाँजा भारततर्फ लैजाँदै गरेको ट्याक्टरलाई पछ्याएको थियो। जगरनाथपुर–४ पुग्दा चालकसहितका तस्करहरूले गाँजा लोड गरिएको ट्याक्टर त्यत्तिकै छाडेर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाँजा लोड गरिएको ट्याक्टर सोनवर्षा गाउँबाट भारततर्फ लैजाने तयारीमा थियो। ट्याक्टर धनी र तस्करहरू सोही गाउँका भएको आशंका गरिए पनि उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन।
बरामद गाँजा र ट्याक्टर इलाका प्रहरी कार्यालयमा राखिएको छ। फरार रहेका चालक, ट्याक्टर धनी तथा संलग्न तस्करहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।







Discussion about this post