पर्सा प्रशासनले वीरगञ्ज महानगरपालिकामा जारी कर्फ्यू आदेश हटाएको छ । यद्यपि, शान्ति–सुरक्षाको अवस्था अझै पूर्ण रूपमा सामान्य भइनसकेको जनाउँदै केही संवेदनशील क्षेत्रमा रात्री निषेधाज्ञा लागू गरिएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान ९ः४५ बजेदेखि लागू कर्फ्यू आदेश सोही दिन साँझ ४ः३० बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रशासनका अनुसार परिस्थितिमा क्रमिक सुधार देखिनुका साथै सर्वपक्षीय छलफलबाट कर्फ्यूलाई निरन्तरता दिनु नपर्ने निष्कर्षमा पुगिएको हो ।
तर सम्भावित जोखिमलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका सीमित क्षेत्रमा आज आइतबार साँझ ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको अवधिमा भेला, सभा, जुलुस, प्रदर्शन तथा घेराउजस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रशासनले स्पष्ट पारेको छ ।
निषेधाज्ञा लागू हुने क्षेत्रको सीमा पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ रानीघाट पुल, उत्तरतर्फ पावरहाउस चोक र दक्षिणतर्फ घण्टाघर चोक तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले आदेश उल्लङ्घन गरे कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै सबै राजनीतिक दल, सामाजिक तथा धार्मिक संघ–संस्था र सर्वसाधारणलाई संयमता अपनाउँदै शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ ।








Discussion about this post