आगामी निर्वाचन नजिकिँदै गर्दा युवा नेत्री पिकिं यादवले देशको वर्तमान राजनीतिक अवस्था, नेतृत्व चरित्र र जनताको मनोविज्ञानबारे कडा धारणा सार्वजनिक गरेकी छिन्।
उनले विगत र वर्तमान नेतृत्व दुवै प्रति असन्तुष्टि व्यक्त गर्दै भनिन् – “न त पहिलेका नेता क्रियेटिभ र इमान्दार थिए, न त अहिलेका छन्। पार्टी र नेताको संख्या यति धेरै भयो कि गनेर नसकिने, तर देशका लागि काम गर्ने भन्दा एकअर्कालाई तल झार्ने खेलमै व्यस्त छन्।”
यादवका अनुसार देशमा गरिब, असहाय र पीडित नागरिकको वास्तविक दुःख बुझ्ने नेतृत्वको अभाव छ। उनले साँचो अर्थमा राष्ट्रसेवामा समर्पित नेता पाउनु आजको युगमा “भगवान सरह” भएको उल्लेख गर्दै यस्तो नेता निस्वार्थ रूपमा पदमा रहँदै जनताको भलो गर्ने सोच राख्ने हुनुपर्ने बताइन्।
साथै उनले जनतालाई पनि आत्मआलोचना गर्न आग्रह गरिन्। “हामी जनता पनि कम लोभी छैनौँ। व्यक्तिगत स्वार्थ पूरा गर्न जे पनि गर्न तयार हुन्छौँ। यदि सामाजिक कामलाई प्राथमिकता दिने हो भने सबैको भलो हुन्थ्यो।”
विदेश भ्रमणप्रति लक्षित गर्दै उनले नेताहरूलाई प्रश्न गरिन् – “नेता विकसित देश घुम्न मात्रै जाने हो र? त्यहाँको विकास कसरी भयो, त्यो सिकेर नेपालमा लागू गर्ने जिम्मेवारी किन पूरा हुँदैन?” उनले विकासमा इमान्दारिता, कार्यान्वयनमा दृढता र साझा प्रतिबद्धता महत्वपूर्ण भएको उदाहरण दिँदै भनेकी छिन् कि नेपालमा भने विकासको बहसभन्दा चुनावी अंकगणितमा समय बितिरहेको छ।
यादवले चुनाव केन्द्रित राजनीति प्रति बढ्दो जनआक्रोशको संकेत गर्दै भनिन् – “अब त चुनाव भन्ने शब्द सुन्ना साथ रिस उठ्छ। चुनावले फरक पार्टी र व्यक्ति जिताए पनि नियत उहीँ रहने हो भने परिवर्तन कसरी सम्भव हुन्छ?”
उनी अन्त्यमा स्वार्थ रहित राजनीति, उत्तरदायी नेतृत्व र सचेत नागरिक संस्कार निर्माण नगरेसम्म देशले अपेक्षित विकास नपाउने चेतावनी दिइन्।







Discussion about this post