पर्सा–१ मा रुङटाको उम्मेदवारीप्रति असन्तुष्टि, ‘पोस्टर धेरै काम कम’ भन्ने जनगुनासो

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाको उम्मेदवारीलाई लिएर जनस्तरमा तीव्र असन्तुष्टि देखिन थालेको छ। पार्टीभित्र पहुँच र पैसाको प्रभावमा टिकट सुरक्षित गरे पनि जनताको विश्वास जित्न उनी असफल देखिएको स्थानीय बासिन्दाको टिप्पणी छ।

चुनाव नजिकिँदै जाँदा रुङटा घरदैलो तथा सभा–सम्मेलनमा सक्रिय देखिए पनि विगतमा जनतासँगको उपस्थिती कमजोर रहेको गुनासो बढ्दै गएको छ। २०७४ सालको निर्वाचनमा पराजयपछि लामो समयसम्म जनसम्पर्कबाट टाढा रहेको आरोप उनीमाथि लाग्दै आएको छ।

स्थानीयवासीका अनुसार सडक, खानेपानी, रोजगारी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत समस्यामा रुङटाबाट कुनै ठोस पहल देखिएको छैन। गाउँ–टोलमा “चुनाव आयो, नेता देखियो” भन्ने धारणा बलियो बन्दै गएको उनीहरूको भनाइ छ।

विकासका नाममा ठूला भाषण भए पनि प्रत्यक्ष देखिने काम नभएको स्थानीयको आरोप छ। उद्योग–व्यवसायसँग नजिकको सम्बन्ध रहे पनि स्थानीय युवाको रोजगारी र सीप विकासमा प्रभावकारी भूमिका नखेलेको भन्दै आलोचना भइरहेको छ।

यस अवस्थाले रुङटाको राजनीति जनमुखीभन्दा पनि स्वार्थ र पहुँच केन्द्रित रहेको संकेत गर्ने स्थानीयको टिप्पणी छ। अर्कोतर्फ, प्रतिस्पर्धी उम्मेदवारहरू निरन्तर जनसम्पर्क, विगतका काम र जनताबीचको उपस्थितिका कारण बलियो पकड बनाउँदै गएको देखिन्छ।

स्थानीय मतदातामाझ रुङटाको उम्मेदवारी ‘पैसाले सजिएको पोस्टर र प्रचारमा सीमित’ भएको टिप्पणी सुनिन थालेको छ। मतदाताहरूले भाषणभन्दा विश्वास, उपस्थिती र परिणाममुखी काम आवश्यक रहेको स्पष्ट सन्देश दिइरहेका छन्।

पर्सा–१ का मतदाताहरूको बुझाइमा राजनीतिमा टिकट पाउनु मात्र जितको आधार होइन। जनताको सुख–दुःखमा निरन्तर साथ, सक्रिय उपस्थिती र काम नै वास्तविक मापदण्ड भएको भन्दै यसपटक पनि उम्मेदवारलाई यही आधारमा तौलिने संकेत देखिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित