पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर–१५ लक्ष्मणवा टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभावशाली पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
रास्वपा वार्ड–१५ टोल कमिटीका उपसभापति धिरज गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरी सयौं स्थानीय युवाहरू रास्वपामा प्रवेश गरेका छन्।
नवप्रवेशी युवाहरूलाई पर्सा क्षेत्र नम्बर–१ बाट रास्वपाका प्रतिनिधिसभा उम्मेदवार हरि पन्तले अबीर टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा युवाहरूको उल्लेखनीय सहभागिता र उत्साह देखिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार हरि पन्तले देशमा वैकल्पिक, जवाफदेही र सुशासनमुखी राजनीतिको आवश्यकता रहेको बताउँदै युवाहरूको सक्रिय सहभागिताले रास्वपाको अभियानलाई थप मजबुत बनाएको बताए। उनले युवालाई परिवर्तनको मुख्य शक्ति भएको उल्लेख गर्दै आगामी निर्वाचनमा संगठित भएर अघि बढ्न आग्रह गरे।
अध्यक्षता गरेका धिरज गुप्ताले लक्ष्मणवामा युवाहरूको यस्तो ऐतिहासिक सहभागिता नयाँ राजनीतिक चेतनाको संकेत भएको बताए। “युवा अब दर्शक होइन, निर्णायक शक्ति बन्न थालेका छन्,” उनले भने।
लक्ष्मणवा टोलमा भएको यो सामूहिक पार्टी प्रवेशलाई पर्सा क्षेत्र नम्बर–१ मा रास्वपाको संगठन विस्तार र युवा आधार मजबुत हुने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।








Discussion about this post