वीरगञ्ज महानगरमा मान्छे नभएको घरलाई लक्षित गरेर सुनचाँदी र गरगहनाको चोरीका घटनाहरू बढिरहेका छन्।
माघ १२ गते वीरगञ्ज–१५ स्थित श्यामकिशोर लाल कर्णको घरबाट करिब ५० लाख रुपैयाँ बराबरको सुनचाँदी चोरी भएको थियो। चोरीमा तीन जना अपरिचित व्यक्ति संलग्न रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, माघ १३ गते वीरगञ्ज–१४ स्थित लिङ्करोडस्थित वीरेन्द्र सिंहको घरबाट सुन र घडी चोरी भएको उजुरी दर्ता गरिएको छ।
पर्सा प्रहरीका नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार अधिकांश चोरीको घटना मान्छे नभएको घरलाई लक्षित गरेर भएको छ। उनले भने, “यी दुई घटनामा प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ।”
चालु आर्थिक वर्षको माघ तेस्रो सातासम्म पर्सामा २६ चोरीका मुद्दा दर्ता भएका छन्। त्यसमध्ये ४४ जना प्रतिवादी पक्राउ परेका छन् भने नौ जना फरार छन्। १३ जना प्रतिवादी पुर्पक्ष थुनामा र २४ जना धरौटीमा छुटेका छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा पर्सामा ३८ चोरीका मुद्दा दर्ता भएका थिए। तीमध्ये ५५ जना प्रतिवादी पक्राउ परेका थिए भने आठ जना फरार थिए। १७ जना पुर्पक्ष थुनामा र ३६ जना धरौटीमा छुटेका थिए।







Discussion about this post