आसन्न निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशका आठै जिल्लामा कूल ४ हजार ४ सय ७१ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न प्रहरीले मतदान स्थलहरूको जोखिम मूल्याङ्कन गरी सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेको छ।
मधेस प्रहरीका अनुसार जेनजी मुभमेन्टपछि देखिएका सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै १,२३७ मतदान स्थललाई अति संवेदनशील (रेड जोन) सूचीमा राखिएको छ। आठ जिल्लामध्ये १६० मतदान स्थल मात्र सामान्य वर्गमा परेका छन्।
सप्तरी जिल्लामा सबैभन्दा धेरै २०९ मतदान स्थल अति संवेदनशील रहेका छन्। त्यसपछि धनुषा १९४, महोत्तरी १६३, सर्लाही १५८, सिराहा १५४, रौतहट १५२ र बारा १४५ वटा रेड जोनमा परेका छन्। प्रदेशभर ७६३ मतदान स्थल संवेदनशील सूचीमा छन्।
अति संवेदनशील मतदान स्थलमा तीन तहको सुरक्षा घेरा रहने मधेस प्रहरीले जनाएको छ। भित्री घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र बाहिरी घेरामा नेपाली सेना परिचालन गरिनेछ। प्रदेशभर करिब ४० हजार नेपाल प्रहरी तथा निर्वाचन प्रहरी र १० हजार सशस्त्र प्रहरी खटाइने तयारी गरिएको छ।







Discussion about this post