रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
रौतहट जिल्लाको राजदेवी नगरपालिकामा शुक्रवार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
गौर–पिपरा सडकखण्ड अन्तर्गत राजदेवी नगरपालिका–१ पत्थरा पोखरीस्थित विद्यालय नजिक भएको दुर्घटनामा दुवै मोटरसाइकल चालकको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान करिब ११ः४० बजे बीआर ३० एएफ २३७० नम्बरको मोटरसाइकल चालक दुर्गाभगवती गाउँपालिका–२ निवासी अशोक महतो र प्र.०२–०३–०१८ प २३४६ नम्बरको मोटरसाइकल चालक राजदेवी नगरपालिका–२ निवासी २९ वर्षीय अरविन्द महतो दुर्घटनामा परेका थिए।
दुर्घटनामा अरविन्द महतोको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते अशोक महतोको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा ज्यान गएको डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए ।
प्रहरी निरीक्षक विश्वनाथ यादवको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको छ।
दुवै मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई एकआपसमा ठोक्किएको प्रहरीको निष्कर्ष छ।







Discussion about this post