देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै वसन्त पञ्चमी, सरस्वती मन्दिरमा भक्तजनको भीड

माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गर्न सरस्वती मन्दिरहरूमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि र सृजनशीलता वृद्धि हुने धार्मिक विश्वास छ। आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने तथा लेखपढ सुरु गराउने परम्परा रहिआएको छ। यस दिन पढाइ सुरु गरे राम्रो विद्या प्राप्त हुने मान्यता रहेको छ।

चन्द्रमाजस्तो गोरो वर्ण, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, वागीश्वरी, वरदायिनी र बुद्धिदात्रीलगायत विभिन्न नामले पुकारिन्छ। विद्या र कलाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका प्रतीकका रूपमा पूजा गर्ने चलन छ।

सूर्य उत्तरायण लाग्ने र दिन लामो हुँदै जाने विश्वासका कारण यस पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ। ऋग्वेदमा वाग्देवीका रूपमा वर्णित सरस्वतीको पूजा उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने विश्वास गरिएको छ।

आज विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता कार्य साइत नहेरी गर्न मिल्ने विश्वास रहे पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकार्य नगरिने जनाइएको छ। बालबालिकालाई शिक्षा आरम्भ गराउने तथा नाक–कान छेड्ने परम्परा भने कायमै छ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी, नीलसरस्वती, लेलेलगायत देशभरका सरस्वती मन्दिरमा विशेषगरी विद्यार्थीहरूको भीड लागेको छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निले विद्या र बुद्धि प्राप्त हुने धार्मिक विश्वास पनि छ।

यसैबीच हनुमानढोका दरबारको नासल चोकमा आज वसन्त श्रवण कार्यक्रम आयोजना हुँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान १० बजेर २७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्नुहुनेछ। कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक अङ्गका प्रमुख तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने जनाइएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित