सामाजिक सञ्जाल टिकटक प्रयोग गरी धार्मिक अफवाह फैलाएको तथा समुदाय लक्षित गालीगलौज गरेको आरोपमा धनुषा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ।
साथै सोही टिकटक भिडियोको विषयलाई लिएर मस्जिदमा तोडफोड र धार्मिक ग्रन्थ जलाउने घटनामा संलग्न एक जनालाई पनि नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कमला नगरपालिका–६ का १९ वर्षीय हैदर अंसारी र १९ वर्षीय अमानत अंसारीले टिकटकमार्फत आपत्तिजनक भिडियो पोस्ट गरी धार्मिक सद्भावमा खलल पुर्याएको आरोप छ।
उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ अनुसार मुद्दा दर्ता गरी अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, उक्त भिडियोको विषयलाई लिएर कमला नगरपालिका–६ स्थित सखुवा टोलको मस्जिदमा तोडफोड गर्ने र धार्मिक ग्रन्थ जलाउने घटनामा संलग्न २५ वर्षीय कपिल भन्ने राम प्रताप साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध दफा १५५ बमोजिम धर्मसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ। साथै टिकटक, फेसबुक, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा धार्मिक भावना आहत हुने सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया जनाएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।
धनुषा जिल्लामा सामाजिक सद्भाव, शान्ति र अमनचयन कायम राख्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ।







Discussion about this post