गत भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका क्रममा काठमाडौँस्थित केन्द्रीय कारागार (सुनधारा) बाट फरार भएका दुई जना कैदीलाई पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बाराको विश्रामपुर गाउँपालिका–५ का २५ वर्षीय सुदामा पासवान उर्फ प्रदेशीलाई गए राति वीरगञ्ज महानगरपालिका–१५ भिष्वा क्षेत्रबाट नियन्त्रणमा लिएको हो। कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय भोगिरहेका पासवान भदौ २४ गते आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।
यसैगरी, बाराको परवानीपुर गाउँपालिका–२ का ३२ वर्षीय विवेकलाल साह कानुलाई पनि सोही दिन दिउँसो वीरगञ्ज महानगरपालिका–४ बिर्ता टोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। साह बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको हेटौडा इजलासको आदेशअनुसार ५० हजार रुपैयाँ धरौटी तिर्न नसकी केन्द्रीय कारागार चलान भएका थिए। उनी पनि आन्दोलनकै क्रममा फरार भएका थिए।
पक्राउ परेका दुवै जनालाई आवश्यक प्रक्रिया पूरा गरी वीरगञ्ज कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो।







Discussion about this post