बिरगंज, ११ चैत्र।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले बिरगंजमा आयोजना गरेको वृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार क्लासिक बेन्केट हलमा आयोजित कार्यक्रममा ७ महिला सहित कुल १११ जनाले रक्तदान गरेका छन्।
कार्यक्रममा बिन्दा कुमारी, शान्ती मोक्तान, दिपक कुमार सिंह, चन्दन कुमार पण्डित, निजामुदिन अन्सारी, राजकुमार सहनी, शेख मजिद, सुनिल कुमार चौधरी लगायतका रक्तदाताहरूले सहभागिता जनाउँदै मानव सेवामा योगदान दिएका थिए।
रास्वपा पर्साका अध्यक्ष तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त) को विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, शैक्षिक सहिद मुकुन्द खनाल प्रतिष्ठान पर्साका सभापति मुना खनाल, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, एलोकल नेपाल खबरका सञ्चालक युवराज केसरी, कार्यक्रम संयोजक शिक्षाविद् मार्टिन मोक्तान लगायतको उपस्थिति रहेको थियो। साथै रास्वपा पर्साका उपाध्यक्ष तुलसा पौडेल, सचिव सुदिस प्रजापति, बिरगंज महानगर अध्यक्ष अमन आलम, सचिव गौतम श्रेष्ठ तथा सञ्चारकर्मी, अग्रज, महिला र युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पन्तले बिरगंज आसपास क्षेत्रमा रगतको अभाव रहेको जानकारी पाएपछि मानवीय उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। उनले रक्तदानले दातालाई कुनै नोक्सानी नगर्ने तर प्राप्त गर्ने व्यक्तिको जीवन बचाउने भएकाले प्रत्येक तीन महिनामा रक्तदान गर्न सबैलाई आग्रह गरे।
त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति पटेलले हाल बिरगंजस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुँदा नारायणी अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थामा उपचाररत बिरामीहरू प्रभावित भइरहेको बताए। यस्तो अवस्थामा कार्यक्रम आयोजना गरी मानवता सुदृढ बनाएकोमा उनले रास्वपा पर्सा परिवारप्रति आभार व्यक्त गरे।
कार्यक्रममा रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभराज पाण्डेयको नेतृत्वमा रेडक्रस, बिरगंज नर्सिङ क्याम्पस तथा हिमाल इन्स्टिच्युट नर्सिङ कलेजका स्वयंसेवक टोलीले रक्तदाताहरूलाई सहजीकरण गरेका थिए।







Discussion about this post