पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदमा बुद्धि प्रसाद पन्त (हरि) ले आफ्नो चुनावी खर्चको पूर्ण विवरण सार्वजनिक गरेका छन्। पन्तका निर्वाचन प्रतिनिधि महमद मसुदिन आलम ले जिल्ला निर्वाचन कार्यालय पर्सामा कुल १० लाख २२ हजार ७ सय रुपैयाँ बराबरको खर्च विवरण दर्ता गराएका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले चुनावी खर्च विवरण अनिवार्य रूपमा बुझाउनु पर्छ। पन्तले छोटो समयमा विवरण पेस गर्दै चुनावी प्रक्रियामा पारदर्शिता कायम गर्ने प्रयास गरेका छन्।
विवरण अनुसार खर्चको ठूलो हिस्सा यातायात र प्रचार सामग्रीमा केन्द्रित भएको छ। दुई थान सवारी साधन भाडामा २ लाख ६० हजार, फ्लेक्स प्रिन्टिङमा १ लाख ३५ हजार र अन्य प्रचार सामग्री छपाइमा १ लाख ६५ हजार ५ सय ५० रुपैयाँ खर्च भएको छ। झन्डा निर्माणमा १ लाख २३ हजार, कार्यकर्ता तथा स्वयंसेवकका लागि खाजा, गोष्ठी र सम्मेलन व्यवस्थापनमा १ लाख ४० हजार १ सय ५० र मतदाता नामावली प्रिन्टमा २२ हजार रुपैयाँ खर्च भएको छ। उम्मेदवारी दर्ता शुल्कका लागि १० हजार रुपैयाँ खर्च भएको विवरणमा समावेश छ।
विभिन्न शीर्षकका खर्चहरूले पन्तको चुनावी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउने भूमिका खेलेको देखिन्छ। उनका यस कदमले समग्र निर्वाचन प्रक्रियालाई थप विश्वसनीय र जवाफदेही बनाउने अपेक्षा गरिएको छ।







Discussion about this post