वीरगञ्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको २० लाखभन्दा बढी रकमसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौंका ५० वर्षीय विनयशंकर साह तुराहा रहेका छन्। भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा सवार उनलाई भन्सार कार्यालय अगाडि चेकजाँचका क्रममा पक्राउ गरिएको हो।
जाँचका क्रममा मोटरसाइकलको सिटकभरमुनि लुकाएर राखिएको अवस्थामा नेपाली २० लाख २ हजार ५० रुपैयाँ र भारतीय ६ सय रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौला का अनुसार बरामद रकमको स्रोत खुलाउन नसकेपछि तुराहालाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि शुक्रबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।







Discussion about this post