भाद्र ७, २०८० वीरगञ्ज । वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गर्न वीरगञ्ज महानगरपालिकाले सिफारिस गरेको छ ।
लामो समयदेखि बचतकर्ताहरूको निक्षेप फिर्ता गर्न असक्षम सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै वीरगञ्ज महानगरपालिकाले सहकारीसहित वर्तमान, पूर्व सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूमाथि कारबाही गर्दै उनीहरूको सम्पत्ति रोका गर्न समेत सिफारिस गरेको हो ।
सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र लेख्दै वीरगञ्ज महानगरले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको महानगर स्रोतले जनाएको छ । ‘सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्नुका साथै महानगरले सञ्चालकहरूको सम्पत्ति रोका गर्नका लागि नेपाल राष्ट्र बैङ्कलाई समेत पत्र लेखेको छ,’ स्रोतले भन्यो, ‘सहकारीका पूर्व सञ्चालक, वर्तमान सञ्चालक र लेखा सुपरिवेक्षण समितिका सदस्यहरू समेतको चल(अचल सम्पत्ति रोका गर्न पनि सोमबार नै महानगरले राष्ट्र बैङ्कलाई समेत पत्राचार गरेको छ ।’
त्यसैगरी महानगरले सहकारी विभागलाई समेत सानो पाइलालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको भन्ने जानकारी गराएको छ ।
महानगरले सहकारीका सञ्चालक, पूर्व सञ्चालक र पूर्व तथा वर्तमान लेखा सुपरिवेक्षण समितिका सदस्यहरूमाथि आवश्यक अनुसन्धान गर्दै कारबाही प्रक्रिया अगाडि बढाउन केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी लाई समेत पत्र लेखेको स्रोतको दाबी छ ।
वर्तमान अवस्थामा सहकारीको सञ्चालक समितिका अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, सचिव देवेन्द्र बाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू अशोक यादव, थान बहादुर बुढा मगर र धिरज दासमाथि अनुसन्धान गर्दै कारबाही प्रक्रिया अगाडि बढाउन सीआइबीलाई सिफारिस गरेको छ । त्यस्तै पूर्व सञ्चालक समितिकी उपाध्यक्ष नेहा पौडेल, सचिव तस्विरन मियाँ, कोषाध्यक्ष सृष्टि मानन्धर र सदस्य देवेन्द्र बाबु राईमाथि पनि अनुसन्धान गर्दै कारबाही अगाडि बढाउन सिफारिस गरेको स्रोतको भनाई छ ।







Discussion about this post