मधेशको भाषा, साहित्य र संस्कृतिलाई उजागर गर्ने उद्देश्यले जारी मधेश साहित्य महोत्सव २०२६ आज तेस्रो दिन प्रवेश गरेको छ। तेस्रो दिनका कार्यक्रम साहित्यिक बहस, विचार–विमर्श र लोकसांस्कृतिक प्रस्तुतिमा केन्द्रित रहने आयोजकले बताएका छन्।
आज बिहान काव्यशालापछि ‘गाउँ बनाम शहर, शहर बनाम गाउँ’ विषयमा हुने सत्रमा साहित्यकार सीके लालले एकल प्रस्तुति दिनेछन्। त्यसपछि ‘भोजपुरी साहित्यमा गाउँ’ शीर्षकमा डा. हरिन्द्र हिमकर, उपेन्द्र सहनी र दिनेश गुप्ताबीच छलफल हुने कार्यक्रम तय गरिएको छ।
महोत्सवको तेस्रो दिनकै अवसरमा समापन समारोह पनि आयोजना हुँदैछ। समारोहमा मधेश प्रदेश प्रमुख सुरेन्द्रलाल कर्ण प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको अध्यक्षता रहनेछ।
साँझतिरको मुख्य आकर्षणका रूपमा चर्चित भोजपुरी गायिका कल्पना पटवारी वीरगंज आइपुग्नेछिन्। उनले स्थानीय कलाकारहरूसँग सहकार्य गर्दै विशेष सांगीतिक साँझ प्रस्तुत गर्ने आयोजकले जानकारी दिएका छन्। यसअघि महोत्सवमा हरि गान, बहुभाषिक कवि गोष्ठी, नटुवा नाच, गीत तथा नाटक प्रस्तुत भइसकेका छन्।
मधेशको मौलिक पहिचान र सांस्कृतिक चेतनालाई सबल बनाउने उद्देश्यले आयोजना गरिएको महोत्सवले दर्शक र साहित्यप्रेमीहरूको उत्साहजनक सहभागिता पाइरहेको आयोजकले जनाएको छ।







Discussion about this post